जम्मू-कश्मीर आक्रमण अपडेटः एक नेपालीसहित २८ जनाको मृत्यु,

काठमाडौं  – जम्मू-कश्मीरको लोकप्रिय पर्यटकीय क्षेत्र पाहलगाममा भएको भीषण आतङ्कवादी आक्रमणले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता र दुख व्यक्त गराइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको राजकीय भ्रमण छोट्याएर स्वदेश फर्कने निर्णय लिनुभएको छ।

बैसरान भन्ने स्थानमा भएको यो आक्रमणमा आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायमा संलग्न सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनामा कम्तीमा २८ जनाको ज्यान गएको पुष्टि भएको छ, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय बासिन्दा तथा एक नेपाली र एक युएईका नागरिक रहेका छन्। थप ३६ जना घाइते भएका छन्।

यस आतङ्कवादी हमलाको जिम्मेवारी पाकिस्तानस्थित लश्कर-ए-तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ। प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ। उहाँले आतंकवादविरुद्धको भारतको अडान अब अझ सशक्त हुने सन्देश समेत दिनुभएको छ।

घटनापछि भारतका गृहमन्त्री अमित शाह सुरक्षा मूल्याङ्कनका लागि श्रीनगर पुगेका छन्।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्पका अनुसार उहाँ निकट भविष्यमै प्रधानमन्त्री मोदीसँग वार्ता गरी भारतप्रति अमेरिकाको ऐक्यबद्धता पुनः व्यक्त गर्ने तयारीमा हुनुहुन्छ। व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा जानकारी दिँदै राष्ट्रपति ट्रम्पलाई यस घटनाबारे राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी दिइएको बताउनुभयो।

ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत लेख्नुभएको छ, “कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्‍याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढताका साथ सहयोग गर्नेछ।”

यस घटनाले फेरि एकपटक दक्षिण एशियामा बढ्दो आतंकवादी गतिविधिप्रति गम्भीर चासो उत्पन्न गराएको छ। साथै, सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी र सतर्क बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्