दिल्ली क्यापिटल्सको शानदार जित: केएल राहुल र अभिषेक पोरेलको अर्धशतकले लखनउमाथि ८ विकेटको विजय

काठमाडौं – केएल राहुल र अभिषेक पोरेलको उत्कृष्ट अर्धशतकको मद्दतले दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा छैटौं जित हात पारेको छ । मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो । केएल राहुलले ५७ रनमा अविजित रहँदा, अभिषेक पोरेलले ५१ रनको योगदान दिए । कप्तान अक्षर पटेल पनि ३४ रनमा अविजित रहे । लखनउका लागि दुई विकेट एइडेन मार्क्रमले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । एइडेन मार्क्रमले ५२ रन, मिचेल मार्शले ४५ रन र आयुष बदोनीले ३६ रनको योगदान दिए । तर, सुरुवात राम्रो भए पनि अन्तिम ओभरहरूमा कमजोर प्रदर्शनले लखनउलाई चुनौतीपूर्ण स्कोर बनाउनबाट रोक्यो । बलिङतर्फ दिल्लीका मुकेश कुमार सबैभन्दा सफल रहे । उनले ४ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिएका थिए । मिचेल स्टार्क र दुस्मान्था चमीराले १-१ विकेट लिए । जितसँगै दिल्ली क्यापिटल्सले ८ खेलबाट १२ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ भने लखनउ सुपर जायन्ट्स ९ खेलबाट १० अंकसहित पाँचौं स्थानमा झरेको छ ।

आईपीएलको यो चरणमा दिल्लीको प्रदर्शन लगातार सशक्त बन्दै गएको देखिन्छ, जसले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्