काठमाडौँ – जम्मू–कश्मिरको पर्यटकीय क्षेत्र पहलगमस्थित बाइसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ। मंगलबार दिउँसो भएको यो घटनामा ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले जिम्मेवारी लिएको बताइएको छ।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार मृतकमध्ये दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको छ। घटनामा घाइते भएका कम्तीमा १२ जना अस्पतालमा भर्ना गरिएको छ, जसमा अधिकांशको अवस्था सामान्य रहेको स्थानीय डाक्टरहरूले जनाएका छन्।
गोली चलेको आवाज सुनेपछि सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए। तर, मिनी स्विट्जरल्यान्ड भनेर चिनिने यो क्षेत्र श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको र त्यहाँ हिँडेर वा घोडाबाट मात्र पुग्न सकिने भएकाले उद्धार कार्यमा कठिनाइ भएको छ।
भारतीय अधिकारीहरूले यो आक्रमण पछिल्ला वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठूलो हमला भएको बताएका छन्। घटनाको निन्दा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरब भ्रमणबाट गृहमन्त्री अमित शाहसँग समन्वय गरेका छन् र मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घटनामा संलग्नहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
गृहमन्त्री अमित शाह आफैं घटनास्थलतर्फ गएका छन्। उनले पनि दोषीलाई कुनै हालतमा नछाडिने चेतावनी दिएका छन्। विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै केन्द्र सरकारलाई यसको जिम्मेवारी लिन आग्रह गरेका छन्।
यो आक्रमणले भारतको आतङ्कविरुद्धको रणनीतिलाई पुनः समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको विश्लेषकहरूले बताएका छन्।