कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुने, तालिका भोलि सार्वजनिक हुने

File Photo

काठमाडौं –  कक्षा १२ को राष्ट्रिय परीक्षा अब आगामी वैशाख २१ गते (आईतबार) बाट सुरु हुने भएको छ। परीक्षा दुई दिनपछि सुरु हुने तय भएको छ भने तालिका भने भोलि मात्र सार्वजनिक गरिने परीक्षा बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको नयाँ मिति तय गरिएको जानकारी दिएका हुन्। बोर्डको बैठक बसेर तालिका तयार पारिने र त्यसपछि औपचारिक सूचना सार्वजनिक गरिने स्रोतको भनाइ छ।

यसअघि बोर्डले वैशाख ११ गते (बिहीबार) बाट परीक्षा सुरु गर्ने निर्णय गरेको थियो। तर, शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सारिएको हो। आन्दोलनका कारण परीक्षा सञ्चालनमा अप्ठेरो पर्ने देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए।

बालुवाटारमा मंगलबार साँझ सम्पन्न भेटमा प्रधानमन्त्री ओलीले परीक्षा बोर्डका अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा स्थगनको निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार परीक्षा बोर्डले तयारी परिवर्तन गर्दै नयाँ मिति घोषणा गरेको हो। बोर्डले यसअघि सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, विद्यार्थी र शिक्षक दुवैको हितलाई ध्यानमा राख्दै परीक्षा सारिएको बताइएको छ।

नयाँ तालिका भोलि सार्वजनिक हुने भएकाले परीक्षार्थीहरुलाई जानकारीका लागि बोर्डको आधिकारिक वेबसाइट र सूचना माध्यमहरूमा निगरानी राख्न अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्