काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीविनाको एमाले कल्पना गर्न नसकिने स्पष्ट पारेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो उमेर र स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएकामा टिप्पणी गर्दै भने, “अहिले म बिरामी छैन, अबको २०–२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन।”
ओलीले एमालेविनाको नेपालसमेत कल्पना गर्न नसकिने बताए। उनले केही शक्ति राष्ट्र र समाजलाई कमजोर बनाउने प्रयासमा लागेको आरोप लगाउँदै भने, “कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन्। केपी ओलीविनाको एमाले किन खोजिएको होला? मनसाय राम्रो भएको भए म सरक्क छोडिदिने थिएँ।”
उनले एमाले अहिले अस्तित्वको लडाइँमा नभई विजयको यात्रामा रहेको जिकिर गर्दै ‘मिसन २०८४’ बाट एमाले निर्णायक राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्ने दाबी गरे। प्रधानमन्त्री ओलीले पार्टीलाई विभाजन गरेर कमजोर बनाउने प्रयास भए पनि जनताको समर्थनमा पुनः गठित गरेर सबैभन्दा लोकप्रिय पार्टी बनाइएको उल्लेख गरे।