काठमाडौँ — नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना सदस्यहरूलाई विद्यालयको चाबी लिएर काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ। परिषद्ले मंगलबार एक विज्ञप्ति जारी गर्दै सूचना प्राप्त भएको २४ घण्टाभित्र काठमाडौं केन्द्रित आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा, जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध गरिन्छ।”
विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षक तथा कर्मचारी काठमाडौंमा आन्दोलनरत छन्। यसअघि शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्य कारण देखाउँदै राजीनामा दिइसक्नुभएको छ भने प्रधानमन्त्री ओलीले वार्तामा आउन आग्रह गर्दै जायज मागहरू पूरा गर्ने प्रतिबद्धता जनाइरहनुभएको छ।
विद्यालय कर्मचारी परिषद्को यो निर्देशनसँगै मुलुकभरका विद्यालयहरूमा शैक्षिक गतिविधि थप प्रभावित हुने संकेत देखिएको छ।