काठमाडौँ — शिक्षकको आन्दोलनका कारण अन्योलमा परेको कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मिति र समयमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगन नहुने स्पष्ट गर्दै, आवश्यकता परे निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षा तयारी भइसकेको हुँदा मिति फेरबदल गर्दा विद्यार्थीको भविष्य प्रभावित हुने भन्दै परीक्षा निर्धारित तालिकाअनुसार नै हुने जानकारी दिनुभयो। उहाँले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिमार्फत् परीक्षा सञ्चालन गरिने बताए।
परीक्षा केन्द्रमा आन्दोलनमा सहभागी नभएका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष बनाइनेछ। त्यस्तो व्यवस्था नभएको खण्डमा प्रमुख जिल्ला अधिकारीमार्फत् जिल्लास्तरका निजामति कर्मचारी परिचालन गरिनेछ। साथै, बोर्डले आन्दोलनरत शिक्षकहरूलाई परीक्षामा सहयोग गर्न आह्वानसमेत गरेको छ।
यसवर्ष देशभर करिब पाँच लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन्। जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ। केन्द्र व्यवस्थापनका लागि आवश्यक संख्या अनुसार केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, करिब दुई हजार कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र करिब २० हजार सुरक्षाकर्मी खटाइने बोर्डले जनाएको छ।
अर्कोतर्फ, शिक्षकहरूले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै प्रदर्शनलाई निरन्तरता दिएका छन्। शिक्षामन्त्री विद्या भट्टराईले पनि यिनै आन्दोलनबीच स्वास्थ्य कारण देखाउँदै सोमबार पदबाट राजीनामा दिनुभएको छ।
सरकारले वैशाख १२ गतेबाट संसद्को बजेट अधिवेशन बोलाएको छ र शिक्षा विधेयक प्रस्तुत गर्ने तयारीमा छ। यद्यपि, आन्दोलनरत शिक्षकहरूले विधेयक पास नभएसम्म विद्यालय नफर्कने अडान कायमै राखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामा आउन र विद्यालय फर्कन आह्वान गर्दै देशको ढुकुटीले धान्न सक्ने जायज मागहरू सम्बोधन गरिने बताएका छन्। तर आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुँदै गएको छ। यसले करिब ५५ लाख बालबालिकाको शिक्षामा असर पारिरहेको भन्दै शिक्षक आन्दोलनको चौतर्फी आलोचना हुन थालेको छ।