कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने

काठमाडौँ  — आन्दोलनरत शिक्षकहरूको दबाबका बीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

बोर्डका एक सदस्यका अनुसार, परीक्षा समन्वय समितिमार्फत विद्यालयहरूलाई आवश्यक समन्वय र तयारी गर्न निर्देशन दिइनेछ। बोर्डले वैशाख ११ गते, बिहीबारबाट सुरू हुने परीक्षा पूर्वनिर्धारित तालिका अनुसार नै सञ्चालन गरिने स्पष्ट पारेको छ।

शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित हुने अनुमान गरिएको थियो। यसै सन्दर्भमा परीक्षा बोर्डले आज विशेष बैठक बोलाएर निर्णय गरेको हो।

शिक्षकहरू विद्यालय शिक्षा ऐनमा अघिल्लो सहमति समेट्नुपर्ने माग गर्दै आन्दोलनमा छन्। उनीहरूले हालै मात्र कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका थिए। आन्दोलनका कारण विद्यार्थीहरूमा अन्योल सिर्जना भए पनि बोर्डले परीक्षा समयमै सम्पन्न गर्ने तयारी जारी राखेको छ।

परीक्षा तालिका अनुसार नै परीक्षा सञ्चालन हुने भएपछि परीक्षार्थीहरूलाई बोर्डले आवश्यक तयारी गर्न अनुरोध गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्