विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने : शिक्षक महासंघ अध्यक्ष सुवेदी

 

काठमाडौं — नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष सुवेदीले सरकारले चाहेको खण्डमा केही दिनमै विद्यालय शिक्षा विधेयक टुंग्याएर ऐन जारी गर्न सकिने अवस्थामा रहेको बताए। उनले शिक्षा ऐन टुंगोमा पुगेपछि मात्र आन्दोलन स्थगित गरी आफूहरु कार्यक्षेत्रमा फर्किने जानकारी दिए। अध्यक्ष सुवेदीका अनुसार सभामुख देवराज घिमिरेसँग भएको भेटमा १२ गतेसम्म सर्वसम्मतिमा विधेयक दर्ता गरिएमा १३ गते नै ऐन जारी गर्न सकिने सहमति भएको थियो। उनले सरकारसँग २०७५, ०७८ र ०८० सालमा भएका सम्झौताहरूको कार्यान्वयनका लागि हाल आन्दोलन गरिएको प्रष्ट पारे।

“सरकारले समयमै शिक्षकहरुको माग नसुनेका कारण बाध्य भएर एकसूत्रीय मागसहित आन्दोलनमा उत्रिनु परेको हो,” सुवेदीले भने। उनले हालको परिस्थितिलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा केही समयका लागि रोक्नु उपयुक्त हुने धारणा राखे। प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूले परीक्षामा सहभागी नहुने निर्णय गरिसकेको भन्दै उनले समस्या समाधानपछि छिटोभन्दा छिटो एसईईको कपी परीक्षण र अन्य शैक्षिक गतिविधि अघि बढाइने बताए।

नेपाल शिक्षक महासंघको आह्वानमा विगत २० दिनदेखि राजधानी केन्द्रित आन्दोलन जारी छ। आन्दोलनकारी शिक्षकहरूले विगतमा भएका सहमति कार्यान्वयनका लागि तत्काल शिक्षा ऐन जारी गर्न सरकारलाई आग्रह गरेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्