काठमाडौं, बैशाख ८– शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ।
राजीनामाको घोषणा शिक्षक आन्दोलन उत्कर्षमा पुगेको बेला आएको हो। देशभरि शिक्षकहरू आफ्ना मागहरू लिएर निरन्तर आन्दोलनमा छन्। यता सरकार र शिक्षक महासंघबीच बारम्बार वार्ता भए पनि कुनै ठोस सहमति नजुटेपछि शिक्षामन्त्री भट्टराई चौतर्फी आलोचनाको सामना गर्दै आएकी थिइन्।
स्रोतका अनुसार, सोमबार नै केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ। सम्भवतः सोही बैठकबाट उनको राजीनामा स्वीकृत हुने छ।
शिक्षक महासंघ र सरकारबीचको संवाद निष्कर्षमा नपुग्दा शिक्षा मन्त्रालयको नेतृत्व संकटमा परेको थियो। यद्यपि सरकारको तर्फबाट समस्या समाधानका प्रयास भइरहेको बताइए पनि, आन्दोलनरत शिक्षकहरूको असन्तुष्टि कायमै रहेको छ।
शिक्षामन्त्री भट्टराईको राजीनामालाई राजनीतिक रूपमा पनि गम्भीर संकेतको रूपमा हेरिएको छ। अब नयाँ नेतृत्व कसले लिने र आन्दोलनको समाधान कस्तो ढंगले खोजिने भन्ने विषयमा चासो थपिएको छ।