काठमाडौं – आन्दोलनरत शिक्षक तथा कर्मचारीका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच आज अर्थपूर्ण छलफल भएको छ। शिक्षामन्त्री भट्टराई आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेकी हुन्।
शिक्षक आन्दोलनको पृष्ठभूमिमा भएको यस भेटलाई राजनीतिक वृत्तले विशेष चासोका साथ हेरिरहेको छ। स्रोतका अनुसार, “प्रधानमन्त्रीसँग मन्त्रीले छलफल गर्नु स्वाभाविक हो। उहाँ आउनु भएको छ।”
शिक्षा मन्त्रालयले आन्दोलन सम्बोधनका लागि तयार पारेको सात बुँदे प्रस्ताव आजै मन्त्रिपरिषद बैठकमा छलफलका लागि प्रस्तुत गरिने भएको छ। मन्त्रिपरिषद बैठक सुरु हुनुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीबीच यो छलफल भएको हो। शिक्षा मन्त्रालयले तयार पारेको प्रस्तावमा ईसीडी (शैक्षिक बाल विकास) शिक्षकको तलब १७ हजार ३०० रुपैयाँ पुर्याउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन गर्ने, मर्यादा क्रम कायम गर्ने, र हाललाई निजामती अस्पतालमार्फत शिक्षासम्बन्धी उपचारमा छुट दिने व्यवस्था गर्ने जस्ता महत्वपूर्ण बुँदाहरू समावेश छन्।
सरकार र आन्दोलनरत पक्षबीच सहमतिको सम्भावनाबारे आजको मन्त्रिपरिषद बैठकपछि थप स्पष्टता आउने अनुमान गरिएको छ। शिक्षक आन्दोलनको चाप बढिरहेको अवस्थामा सरकारले चाँडो समाधानको बाटो खोज्ने संकेत दिएको छ।