कर्मचारीले दोहोरो सुविधा लिन नपाउने कानूनी व्यवस्था गरिँदैछ : सांसद बडू

काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले अबदेखि कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानूनी व्यवस्था गर्न लागिएको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै सांसद बडूले सरकारी कर्मचारीहरुले पेन्सन पाएपछि फेरि सरकारी नियुक्तिमा बसेर दोहोरो सुविधा लिने प्रचलन रहेको भन्दै त्यसलाई रोक्न आवश्यक कानूनी प्रावधान थपिने जानकारी दिए।

“हालसम्म कानूनमै स्पष्ट व्यवस्था नभएकाले कर्मचारीले पेन्सनसँगै सरकारी सुविधा समेत लिँदै आएका थिए,” उनले भने, “अब यस्तो सुविधा कानूनी रूपमा रोक्न आवश्यक व्यवस्था गरिनेछ।”  सांसद बडूले दोहोरो सुविधाका विषयमा गलत व्याख्या गरी प्रचारबाजी भए पनि अब कानूनमै उल्लेख गरिने भएकाले समस्या समाधान हुने विश्वास व्यक्त गरे।

त्यस्तै, उनले फौजदारी अभियोगमा सजाय पाएका कर्मचारीको हकमा पेन्सन सुविधा कटौती गर्नु उचित नहुने धारणा राखे। सानोतिनो भ्रष्टाचारजन्य अभियोगमा सजाय पाएका कर्मचारीको पेन्सन रोकिँदा परिवारसमेत पाउने सुविधाबाट वञ्चित हुने भएकाले त्यो दोहोरो सजाय बन्न सक्ने उनले बताए। सांसद बडूले कर्मचारीको वृत्ति विकास र बढुवासम्बन्धी प्रावधानबारे पनि धारणा राख्दै नायब सुब्बाबाट छैठौं तहमा स्वतः बढुवा हुने र १२ वर्ष सेवा गरेपछि सातौं तहमा बढुवा हुने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार यस्तो व्यवस्थाले कर्मचारीको सेवा प्रवाह, बढुवा र करियर विकासमा कुनै समस्या हुनेछैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्