रविलाई ‘टोले गुण्डा’ को संज्ञा दिँदै मुकुलले भने : यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका छन्।

आज सामाजिक सञ्जालमा लेख्दै ढकालले रवि जेल आउने-जाने गरिरहने ‘पटके’ भइसकेको बताए। उनले रविको मुद्दाको फैसला, आदेशलगायत १८-२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुने पनि जिकिर गरे।

उनले भने, ‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुन्छ। तपाईंहरूको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन्। यसरी पटक पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा “पटके” भनिन्छ। रवि दाइ पनि “पटके” भइसके।’

रविको जेल आउजाउ गर्ने पटके अवस्थाले रास्वपालाई धेरै हानि हुने जिकिर ढकालको छ। उनले रविलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै गर्न सक्छ भन्दै रवि आउजाउ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहने भनाइ राखे।

रविको यो पटके अवस्थाका कारण अन्तिममा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने ढकालले उल्लेख गरे। उनले तीतो सत्य नै यही भएको बताए।

डा ढकालले लेखेका छन्, ‘रवि दाइको यो “पटके” अवस्थाले न त पार्टीभित्रबाट कसैले पार्टीलाई ड्राइभ गर्ने गरि अन्तिम निर्णय गर्न सक्छन् न त पार्टी बाहिरबाट कसैले वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छन्। रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै। यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन्। अनि लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने हुन्। तीतो लाग्यो कुरा? सत्य यही हो।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्