काठमाडौं – दार्चुलाको मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता नरेन्द्र सिंह धामी हाल राजधानी काठमाडौंमा रहँदै गाउँको समग्र विकासका लागि सक्रिय दौडधुपमा छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रियाको सन्दर्भमा धामीले मालिकार्जुन गाउँपालिकाका आधारभूत पूर्वाधारदेखि स्वास्थ्य, शिक्षा, पर्यटन र सञ्चार क्षेत्रमा आवश्यक बजेट सुनिश्चित गर्न विभिन्न मन्त्रालय र सरोकारवाला निकायसँग निरन्तर छलफल र समन्वय गरिरहेका छन् । उनले प्रधानमन्त्री, उपप्रधानमन्त्री, विषयगत मन्त्रीहरू तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूसँग भेट गरी स्थानीय तहका प्राथमिकतामा रहेका योजनाहरूमा बजेट विनियोजनको माग गरेका छन् ।
सडकदेखि शिक्षा, स्वास्थ्य र पर्यटनसम्म प्राथमिकता
धामीको पहलमा हुनैनाथ–शंकरपुर बृहत् खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले हालै ८ करोड बजेट सुनिश्चित गरेको छ । यस्तै, मल्ली रोल–मौतामौती खानेपानी योजनाका लागि खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको छ ।
उनले शंकरपुर क्याम्पसको आधुनिकीकरण, १० शय्याको अस्पतालमा जनशक्ति र उपकरण व्यवस्थापन, भवनविहीन स्वास्थ्य संस्थाहरूको भवन निर्माण, मालिकार्जुन, हुनैनाथ, बलारीवरलगायत धार्मिक–पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र भग्नावशेष श्रीमहल उकुको अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राखी पहल गरिरहेका छन् ।
साथै, मोबाइल सेवा नपुगेका क्षेत्रमा टावर निर्माणका लागि नेपाल टेलिकमको केन्द्रीय कार्यालय तथा मोबाइल सेवा निर्देशनालय वबरमहलसँग समन्वय भइरहेको छ भने निर्माणाधीन सडक योजनाहरूका लागि १३–१४ करोड रुपैयाँ बराबरको बजेट माग भौतिक पूर्वाधार मन्त्रालय र डोलिडारसँग अगाडि बढाइएको छ ।
राजनीतिमा निष्ठाको उदाहरण
राजनीतिलाई पेशा होइन, सेवा र धर्म ठानेका धामी काठमाडौंमा उपचाररत दार्चुलाका बिरामीहरूसँग पनि नियमित भेटघाट गरी स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालसँग समन्वय गरेर उपचारमा सहयोग पुर्याइरहेका छन् । “पदमा भएमात्र काम गर्न सकिन्छ भन्ने सोच बदल्न चाहन्छु,” धामीको भनाइ छ । उनको यो सक्रियता र समर्पणले दार्चुलाको समग्र विकासमा नयाँ आशा र सम्भावनाको ढोका खोल्ने विश्वास स्थानीयबासीले गरेका छन् ।