काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार लामिछानेको निवेदन केही समयअघि सर्वोच्च अदालतमा दर्ता भएको हो। लामिछानेले प्रचलित कानुन विपरित तथा संविधानविपरीत आफूलाई थुनामा राखिएको दाबी गर्दै न्याय खोजेका हुन्।
बन्दी प्रत्यक्षीकरणको निवेदनमार्फत अदालतमा गैरकानुनी थुनाको विषयमा उजुरी गर्न सकिन्छ र त्यसमा उचित देखिए आदेशमार्फत सम्बन्धित व्यक्तिलाई रिहा गर्न सकिन्छ। यसअघि पनि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालतको आदेश गैरन्यायिक भएको दाबी गर्दै अर्को निवेदन सर्वोच्चमा दर्ता गराएका थिए। उक्त निवेदनमा सर्वोच्चले सम्बन्धित निकायसँग कैफियत प्रतिवेदन माग गरिसकेको छ।