काठमाडौं – सिंहदरबारभित्र पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका राप्रपा नेताहरूलाई प्रहरीले रोकेको छ। सो क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार लिङ्देनलाई सिंहदरबार परिसरमै पक्राउ गरिएको हो। यसअघि उनले पार्टीको संसदीय दलको कार्यालयमा अन्य नेताहरूसँग छलफल गरिरहेका थिए। उनीहरू सिंहदरबारबाट बाहिर निस्केर प्रदर्शन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
प्रदर्शनका क्रममा प्रहरीले उनीहरूबाट पर्चा र पम्प्लेटसमेत खोसेको छ। लिङ्देनसँगै रहेका अन्य नेताहरू भने अहिले सिंहदरबारबाहिर प्रदर्शन गरिरहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले के उद्देश्यले प्रदर्शन गर्न खोजेको हो भन्नेबारेमा स्पष्ट जानकारी भने आएको छैन। घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ।