आज वैशाख महिनाको ६ गते – मेरो जीवनको सबैभन्दा अविस्मरणीय दिन। आजकै दिन, २१ वर्ष अघि, तिमीले यो धर्तीमा पहिलो पाइला टेकेकी थियौ। त्यसै दिन म पनि “बाबु” बन्ने सौभाग्य पाएको थिएँ। समयको यो यात्रामा आज २१ वर्ष पुगिसकेछ, तर तिमी मेरो आँखामा अझै उही नानी छौ – मेरो माया, मेरो गर्व, मेरो जीवनको अमूल्य उपहार।
मनिषा, तिमीप्रतिको माया शब्दले बयान गर्नै मुस्किल छ। तिमीप्रति मेरो मन मुटु भरिको माया, स्नेह र ममताको कुनै मापन छैन। तिमीले चालेका हरेक पाइला सफलताको शिखर चुमून् भन्ने मेरो सधैंको कामना हो। तिमी सदा शैक्षिक मार्गमा अग्रसर रहोस्, ज्ञान र विवेकले भरिपूर्ण जीवन बिताओस् भन्ने आशिर्वाद दिन चाहन्छु।
२०६१ सालको यही वैशाख ६ गते, तिमी हाम्रो जीवनमा आएकी थियौ। त्यो दिन हाम्रो परिवारको लागि मात्र होइन, मेरो सम्पूर्ण अस्तित्वकै लागि महत्वपूर्ण दिन हो। हरेक बाबु आमाको लागि आफ्ना सन्तानको जन्मदिन अनुपम महत्त्व राख्दछ – किनभने सन्तानहरु रगत, पसिना, माया र भावना मिसिएको अनमोल उपहार हुन्।
छोरी, भाग्यमानी तिमी हौ, जो बाबु आमाको मायामा हुर्किरहेकी छ्यौ। तर, अझै भाग्यमानी हामी हौं, जो तिमी जस्ती छोरी पाएका छौं। तिमी हाम्रो जीवनमा एउटा उज्यालो किरण झैं आएकी छ्यौ। तिमी सानैदेखि सबैकी प्रिय, सन्तोषी, हँसिली र अत्यन्तै ज्ञानी रहिएकी छ्यौ। तिम्रो मीठो बोली र बौद्धिक समझदारीले सधैं हामीलाई चकित पार्दछ।
तिमीप्रतिको मेरो माया शब्दमा सीमित छैन। तिमीप्रति मेरो गर्व, तिम्रो सफलताको अपेक्षा, र तिमीप्रतिको स्नेह अटुट छ। तिमीले जीवनका हरेक क्षणहरू हाँसो, खुशी र सफलताले भरिपूर्ण बनाउ, यही मेरो सदिच्छा हो। हजुरआमा, म र तिमीलाई जन्म दिने आमाको असीम माया सधैं तिमी सँग रहनेछ।
आज तिमीलाई जन्मदिनको शुभकामना दिँदै केही शुभकामना शब्दहरू लेख्न चाहन्छु:
सप्तरङी रंगझैं तिम्रो जीवनमा उमङ्ग छाओस्,
दुखले तिमीलाई छुनै नपाओस्, अघि तिमी सधैं बढिरहोस्।
तिमी बिहानीको पहिलो घामझैं चम्कि रहोस्,
सधैं तिमीलाई हाम्रो माया र आशीर्वादले घेरी रहोस्।
तिमीले चालेको प्रत्येक पाइला प्रगतिको शिखरतिर जाओस्,
र तिमी सधैं हाम्रो गर्व र प्रेरणाको स्रोत बनिरहोस्।
मनिषा, तिमी हाम्रो जीवनको रत्न हौ। तिमी सधैं स्वस्थ, सुखी, र सफल रहोस्। जन्मदिनको लाखौं लाख शुभकामना, मेरी प्यारी छोरी!
तिमीप्रति सदैव माया,
तिम्रो बाबा प्रेमवल्लव जोशी ‘सागर’