काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीच शनिबार हुने भनिएको निर्णायक खेल वर्षाका कारण रद्ध भएको छ। बिहान ९ बजेबाट सुरु हुने तालिका रहेको खेल निरन्तर वर्षाका कारण हुन सकेन। खेल रद्ध भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यससँगै दुवै टोलीको समान ७ अंक भए तापनि नेट रनरेटको आधारमा अफगानिस्तानले यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्न सफल भएको हो। नेपालले यसअघि युएईलाई ५ रनले, ओमनलाई ८ विकेटले र हङकङलाई ९ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेटले तथा युएईलाई १८० रनको विशाल अन्तरले पराजित गर्दै रनरेटमा अग्रता बनाएको थियो।
दुवै टोली अन्तिम खेल जितेर विश्वकपको टिकट सुनिश्चित गर्न चाहन्थे। तर मौसमको हस्तक्षेपले अन्तिम भिडन्त बिना नै अफगानिस्तानलाई विश्वकप यात्रा तय गराइदिएको छ। नेपालका लागि यो क्षण निराशाजनक भए पनि प्रतियोगिताभरि देखाएको प्रदर्शन प्रशंसनीय रह्यो। अब आगामी अवसरमा अझ सशक्त तयारीका साथ फर्कने अपेक्षा गरिएको छ।