विद्युतीय सवारी साधनको बीमा नीतिसम्बन्धी विषयमा नाडा र बीमा प्राधिकरणबीच छलफल

काठमाडौं – नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग प्राधिकरणको कार्यालयमा भेट गरी विद्युतीय सवारी साधनहरुको बीमा नीतिसम्बन्धी विषयमा विस्तृत छलफल गरेको छ।

उपाध्यक्ष श्रेष्ठले छलफलको क्रममा हालसम्म विद्युतीय सवारी साधनसम्बन्धी बीमा नीति तयार नभएकाले यस विषयमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता रहेको धारणा व्यक्त गरे। उनले विद्युतीय सवारी साधनहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको र त्यससँगै उत्पन्न हुने सम्भावित जोखिम व्यवस्थापन गर्न बीमा प्राधिकरणले यथाशीघ्र प्रभावकारी नीति ल्याउनु पर्नेमा जोड दिए।

छलफलका क्रममा बीमा प्राधिकरणले विद्युतीय सवारी साधनहरुको स्पेयर पार्ट्स, प्रणाली, सामग्री तथा मूल्यसम्बन्धी विवरणलाई समेट्ने गरी नीति निर्माण गरिने र बीमा दाबी (क्लेम) प्रक्रिया सुधार गर्दै बीमा प्रणालीलाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ। साथै, प्राधिकरणले नाडालाई पनि सो नीति निर्माण प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न गराउने योजना बनाएको जनाएको छ।

विद्युतीय सवारी साधनसम्बन्धी नीति निर्माणका लागि अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन आवश्यक रहेको भन्दै दक्षिण एसियाली राष्ट्रहरूमा प्रयोगमा रहेका नीतिहरूको समीक्षा गरी त्यससम्बन्धी जानकारी नाडाले प्राधिकरणलाई उपलब्ध गराउने समेत सहमति भएको छ।

छलफलमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, बीमा लेखा महाशाखा प्रमुख निर्मल अधिकारी तथा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र साधारण सदस्य महेश पालको पनि उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्