काठमाडौं — चर्चित अभिनेत्री तथा मोडल नीति शाह र उनका प्रेमी याचित राणा वैवाहिक सम्बन्धमा बाँधिएका छन्। शुक्रवार काठमाडौं जिल्ला अदालतमा उनीहरूले कानूनी विवाह (कोर्ट म्यारिज) गरेका हुन्।
स्रोतका अनुसार, उनीहरूको विवाह न्यायाधीश दिनबन्धु बरालको इजलासमा सम्पन्न भएको हो। पेशाले एरोस्पेस इन्जिनियर रहेका राणा र शाहबीच झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ।
याचितले पछिल्लो समय सामाजिक सञ्जालमार्फत नीतिसँगका रोमान्टिक तस्वीरहरू सार्वजनिक गर्दै आएका थिए, जसले उनीहरूको सम्बन्धप्रति सार्वजनिक चासो बढाउँदै आएको थियो। फेशन र मनोरञ्जन क्षेत्रकी लोकप्रिय अनुहार नीति शाहले करिअरको सुरुवात मोडलिङबाट गरेकी हुन्। उनी विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेकी छन् भने फिल्म क्षेत्रमा पनि उनको उपस्थिति सशक्त रहँदै आएको छ।