काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती कर्मचारीहरूलाई सडकमै ल्याउने वातावरण सिर्जना हुनु नहुने बताएका छन्।
शुक्रबार संसदको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हाल देखिएको कर्मचारी असन्तुष्टिबारे चिन्ता व्यक्त गरे। बैठकमा बोल्दै उनले भने, “यहाँ आउँदै गर्दा एकछिन जाममा परियो, सडकमा शिक्षकहरू छन्। निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न।”
हाल समितिमा निजामती सेवा सम्बन्धी विधेयकमाथि छलफल जारी छ। यसै सन्दर्भमा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले समिति सभापति र सदस्यहरूको ध्यानाकर्षण गराएका थिए। उनीहरूले आफूहरूको माग बेवास्ता गरी कानुन निर्माण गर्न लागिएको भन्दै सडक आन्दोलनको चेतावनी दिएका छन्। महामन्त्री शर्माले यस्तो संवेदनशील विधेयकमा सबै पक्षको अपनत्व हुनुपर्नेमा जोड दिए।
शर्माले कानुन निर्माण प्रक्रियामा सम्बन्धित पक्षहरूसँग संवाद र सहकार्य आवश्यक रहेको भन्दै समितिलाई समावेशी धारणा बनाउने आग्रह समेत गरे।