मूल समितिले थाल्यो निजामती विधेयकमाथि छलफल, बाहिर कर्मचारीहरूको धर्ना

काठमाडौं — संघीय संसदको मूल समितिमा बहुप्रतीक्षित निजामती सेवा विधेयकमाथि औपचारिक छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठित उपसमितिले गत चैत २० गते पेश गरेको प्रतिवेदनको आधारमा आजदेखि मूल समितिले विधेयकमाथि छलफल थालेको हो।

उपसमितिको प्रतिवेदन बुझाएको १७ दिनपछि मात्रै मूल समितिले छलफल थालेकोप्रति असन्तुष्टि जनाउँदै विभिन्न कर्मचारी संगठन र निजामती सेवा ट्रेड युनियनका नेताहरूले संसदीय छलफल चलिरहेका बेला संसद भवन बाहिर धर्ना दिएका छन्।

निजामती कर्मचारीहरूले प्रतिवेदनमाथि लामो समयसम्म छलफल अगाडि नबढेकोप्रति सार्वजनिक रुपमा चासो र आलोचना व्यक्त गर्दै आएका थिए। त्यसपछि समितिले छलफल अघि बढाएको हो। स्रोतका अनुसार, उपसमितिको प्रतिवेदनमा सेवा प्रवाह, पदोन्नति, स्थानान्तरण र समायोजन सम्बन्धी विषयहरूमा महत्वपूर्ण सुझावहरू समावेश गरिएका छन्। तर ती सुझावहरूमाथि ठोस निर्णय नभएसम्म कर्मचारीहरूले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

निजामती सेवा सुधारका लागि तयार पारिएको विधेयक सम्बन्धी छलफलले अबको केही दिन संसदको प्राथमिक कार्यसूचीमा रहने अपेक्षा गरिएको छ। समितिका सदस्यहरूले विधेयकमा उल्लेख गरिएका प्रावधानबारे गहिरो छलफल गरी कर्मचारीका जायज मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्