काठमाडौं – काठमाडौंमा विभिन्न पेशा र समूहहरूको आन्दोलन चलिरहेका बेला निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले संयुक्त ट्रेड युनियनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्दै आजदेखि औपचारिक रूपमा आन्दोलनको शुरुआत गरेका छन्।
२०८१ सालको अन्तिम दिन संयुक्त पत्रकार सम्मेलनमार्फत आन्दोलनको चेतावनी दिएका कर्मचारी संगठनहरूले संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन्।
शुक्रबार (आज) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन मन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।
आगामी सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउने र सोही दिन विभागीय सचिव तथा जिल्लास्तरीय समितिहरूले प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाउने तय भएको छ।
त्यसपछिका चरणमा वैशाख १० गते बुधबार ‘आन्दोलन परिचालन समिति’ घोषणा गर्ने र वैशाख १२ गते शुक्रबार संसद सचिवालय अगाडि ठूलो भेला आयोजना गर्ने तयारी गरिएको छ।








