काठमाडौँ – काठमाडौँमा जारी शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको छ।
शिक्षकहरू आन्दोलनमा केन्द्रित हुँदा विद्यालयमा शैक्षिक गतिविधि ठप्प हुनुका साथै नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया पनि प्रभावित बनेको हो। विद्यार्थी भर्ना गराउने संवेदनशील समयमा शिक्षकहरूको आन्दोलनले बालबालिकाको भविष्यमा गम्भीर असर पार्ने अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्। उता, कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षा र एसईई उत्तरपुस्तिका परीक्षणका लागि शिक्षकहरूलाई पुनः आह्वान गर्दै विद्यार्थीको अधिकार हनन् नगर्न अनुरोध गरेको छ।
गत वर्षहरूमा निजी विद्यालयबाट सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्दै गएको पृष्ठभूमिमा अहिलेको आन्दोलनले पुनः निराशा फैलाएको छ। कतिपय विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् भने केहीले निजी विद्यालयतर्फ पुनः फर्किने मनस्थितिमा रहेको बताइएको छ। विद्यालय सञ्चालन नहुँदा विद्यार्थीहरू घरमै खेल, मोबाइल र टिभीमा व्यस्त हुन थालेका छन्, जसले बालबालिकाको अध्ययन प्रक्रियामा नकारात्मक असर पार्न थालेको अभिभावकहरूको भनाइ छ।
यता, आन्दोलनरत नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। काठमाडौँमा सम्पन्न महासंघको पदाधिकारी बैठकले आन्दोलन अझ व्यापक बनाउने तयारी गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभएको छ।