चितवनको ६ लेन सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली भोलि चितवन जाँदै

चितवन, वैशाख ५ – प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भोलि शुक्रबार चितवन भ्रमणमा जाँदैछन्। उनले भरतपुरको गोन्द्राङदेखि नारायणगढको पुलचोकसम्म निर्माण भएको ६ लेन सडकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

सडक उद्घाटनका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत चितवन आइपुग्ने कार्यक्रम छ। यसअघि चैत २५ गते उद्घाटनको तयारी गरिए पनि प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो।

भरतपुर विमानस्थल अगाडिको सडक खण्डमा उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। यही स्थानमा ओलीले २०७७ माघ २७ मा उक्त ६.०८ किलोमिटर लामो एसियन मापदण्डको हाइवेको शिलान्यास गरेका थिए। सोही दिन उनले सिटी हलको समेत शिलान्यास गरेका थिए, तर सिटी हलको निर्माण भने अझै सम्पन्न भइसकेको छैन।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार १ अर्ब १२ करोड रुपैयाँको लागतमा सगुन कन्स्ट्रक्सन प्रा.लि.ले सडक निर्माण कार्य सम्पन्न गरी पाँच वर्षसम्म मर्मतको जिम्मेवारीसहित हस्तान्तरण गरिसकेको छ। पहिले दुई लेन रहेको सडकलाई विस्तार गरी अहिले बीचमा चार लेन र दुबै छेउमा सर्भिस लेन थपिएको छ।

सडकको सौन्दर्य वृद्धिका लागि ६ सय स्मार्ट लाइट, ट्राफिक चिह्न, जेब्राक्रस, ड्रेनेज सिस्टम, विद्युत अन्डरग्राउन्ड र रंगीन फूलसहितको मेडियन तयार गरिएको छ। ओरालो क्षेत्रमा स्लोप घटाइएकाले सडक अझ सुरक्षित र दुर्घटनारहित बनाइएको बताइएको छ।

इच्छाकामना गाउँपालिकाको भवन उद्घाटन पनि ओलीकै हातबाट

प्रधानमन्त्री ओलीको चितवन आगमनको अवसरमा जिल्लाकै एकमात्र गाउँपालिका इच्छाकामनाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समेत गरिने भएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार शुक्रबार बिहान ११ बजे उद्घाटन कार्यक्रम तय भएको हो।

उक्त कार्यक्रममा प्रधानमन्त्रीले गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।

एमाले महानगर अधिवेशन र सडक निरीक्षण पनि ओलीको कार्यसूचीमा

प्रधानमन्त्री ओलीले एमाले भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन पनि गर्नेछन्। सो कार्यक्रम भरतपुरस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा आयोजना गरिने एमाले चितवन अध्यक्ष कमलराज पाठकले जानकारी दिएका छन्।

त्यसपछि प्रधानमन्त्री ओलीले नारायणगढ–बुटवल सडकखण्डको निरीक्षण र नवलपुरका जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम समेत तय गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्