ई-सेवाबाट एक करोडभन्दा बढी रकम चोरी गर्ने कञ्चनपुरका २२ वर्षीय युवक पक्राउ

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थायी घर भई काठमाडौं अनामनगरमा बस्दै आएका २२ वर्षीय राहुल बुढा रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कालिमाटीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुढाले विभिन्न फिसिङ लिंकहरू मार्फत करिब ४ हजार व्यक्तिको ई-सेवा खाताबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेका हुन्।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी अंगुर जिसीका अनुसार आरोपीले “द अलर्ट” र “एटी अलर्ट” जस्ता फिसिङ लिंकहरू एसएमएसमार्फत पठाउने गर्थे। ती लिंक खोलेपछि प्रयोगकर्ताको ई-सेवा खातामा पहुँच पुग्ने र त्यसपछि रकम चोरी गर्ने कार्य हुने गरेको पाइएको छ।

लिंक खोल्न लगाउनुअघि “तपाईंको खाता सस्पेन्ड हुन लागेको छ” भन्ने किसिमको चेतावनी दिइने र भेरिफिकेसनको बहानामा फिसिङ साइटमा लगेर विवरण संकलन गरिने प्रहरीको भनाइ छ।

चोरी गरिएको रकम उनले “पशुपति ग्लोबल इनोभेशन प्रा.लि.” नामक कम्पनीका मर्चेन्ट खाताहरूमा जम्मा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धानका लागि बुढालाई हिरासतमा लिई साइबर अपराधसम्बन्धी मुद्दा अगाडि बढाउने तयारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्