नेपाली कांग्रेस फरक मत राख्न पाउने पार्टी हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस फरक मत राख्न, आलोचना गर्न र प्रश्न गर्न पाउने पार्टी भएको बताएका छन्। बारा क्षेत्र नं. ३ मा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र स्वस्थ बहसको परम्परा रहेको उल्लेख गरे। “प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कसैले लिएर जाँदैन,” थापाले भने, “कोही भीम रावल बन्दैन, किनकि यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।”

उनले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्ताको शैलीमा परिवर्तन अपरिहार्य भएको बताए। सत्ता साझेदार नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले कांग्रेसमा नेतृत्वलाई प्रश्न गर्न सकिने वातावरण रहेको धारणा राखे।

थापाले कांग्रेसका मन्त्रीहरूले गरेका कामहरूको प्रचार पार्टीका कार्यकर्ताले आफैं गर्नुपर्नेमा जोड दिए। “हामीले गरेको कामको प्रचार हामीले गरेनौं भने अरु कसैले पनि गर्दैन,” उनले भने, “हाम्रो साथीहरूले काम गर्ने प्रयास गरिरहनुभएको छ, त्यसको प्रचार पनि हामी आफैंबाट हुनुपर्छ।”

महामन्त्री थापाले पार्टीभित्र उत्तरदायित्व, पारदर्शिता र आन्तरिक लोकतन्त्रको अभ्यास आवश्यक रहेको स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्