सरकारले नगर्नुपर्ने निर्णय गर्‍यो, गर्नुपर्ने छाड्यो: गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यसम्पादनको गम्भीर समीक्षा आवश्यक भएको बताएका छन्।

बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकार गठनको मूल उद्देश्यअनुसार अपेक्षित काम हुन नसकेको बताएका हुन्। उनका अनुसार कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी दलबीच विशेष उद्देश्यका साथ सरकार बने पनि हालसम्मको कामको गति र नतिजा सन्तोषजनक छैन।

“अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो बन्नुपर्थ्यो कि पर्दैनथ्यो, त्यो चरण सकियो,” उनले भने, “अब भनेको उद्देश्य पूरा हुनुपर्छ। हामी संविधान संशोधन र सुशासनका एजेन्डामा मिलेका थियौं, तर हालसम्मको प्रगति त्यसअनुसार देखिँदैन।”

महामन्त्री थापाले सरकारले गर्नुपर्ने आवश्यक निर्णयहरू गर्न नसकेको र नगर्नुपर्ने काममा प्राथमिकता दिइएको भन्दै आलोचना गरे। यद्यपि, उनले कांग्रेस एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको र २०७४ सालसम्म सरकार परिवर्तनको खेलमा कांग्रेस नलाग्ने स्पष्ट पारे।

“सरकार परिवर्तन अहिलेसम्म कांग्रेसको कारणले भएको होइन, हामी आफ्ना कुरामा इमान्दार छौं,” उनले भने।

महामन्त्री थापाको भनाइले सरकारभित्रको असन्तुष्टि सतहमा आउन थालेको देखिन्छ भने गठबन्धनको कामकारबाहीलाई लिएर गम्भीर बहस आवश्यक भएको संकेत पनि गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्