उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक आज बालुवाटारमा बस्दै, यस्ता छ एजेण्डा !

काठमाडौँ — सत्तारुढ दलहरूबीच उत्पन्न राजनीतिक अन्योलका बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्चस्तरीय संयन्त्र र कार्यदलका छुट्टाछुट्टै बैठक बस्ने भएका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्यबारे विभिन्न आशङ्का र चर्चाहरू भइरहेका बेला उक्त बैठकहरू बोलाइएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार, कार्यदलको बैठक आज साँझ ५ बजे र त्यसपछि साढे ६ बजे उच्चस्तरीय संयन्त्रको बैठक बस्नेछ।

यसअघि मंगलबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। सो भेटमा गभर्नर नियुक्ति, महत्त्वपूर्ण पदहरूमा सरुवा तथा बढुवा, शिक्षक आन्दोलन, र सरकारको समग्र डेलिभरी प्रणालीका बारेमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

कार्यदलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन्।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, र परराष्ट्रमन्त्री आरजु राणा देउवा कार्यदलमा सहभागी छन्। यी नेताहरू सँगसँगै संयन्त्रमा प्रधानमन्त्री ओली र सभापति देउवाको समेत सहभागिता रहनेछ।

बैठकमा सरकारको दीर्घकालीन स्थायित्व, सत्ता साझेदारीको पुनरावलोकन, र हालका विवादास्पद विषयहरू समाधान गर्न रणनीति तय हुने अपेक्षा गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्