काठमाडौं – शिक्षक तथा कर्मचारीहरूको आन्दोलनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ। परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण केन्द्रहरूमा पुगिसकेका भए तापनि शिक्षकहरू परीक्षणका लागि उपस्थित भएका छैनन्।
‘उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगेको छ, शिक्षकहरू कुरिरहेका छौं,’ भट्टराईले जानकारी दिए, ‘उत्तरपुस्तिका परीक्षण शिक्षककै जिम्मेवारी हो, अरू कसैले गर्न सक्दैन।’
उनले उत्तरपुस्तिकासँग विद्यार्थीहरूको भविष्य जोडिएको भन्दै शिक्षकहरू छिट्टै परीक्षण कार्यमा फर्किने विश्वास व्यक्त गरे। गत ७ चैतदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले असार पहिलो साताभित्र नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको थियो। तर आन्दोलनले गर्दा नतिजा प्रकाशन प्रक्रिया प्रभावित भएको छ।
शिक्षक महासंघले शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेको छ। आन्दोलनका कारण सरकारी विद्यालयहरूमा नयाँ भर्ना अभियान, वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईई उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधिहरू प्रभावित भएका छन्।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकमार्फत शिक्षकका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। साथै वैशाख १२ गतेदेखि संसदको बर्खे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ।
तर शिक्षक महासंघले ऐन जारी हुने सुनिश्चितता नभएको भन्दै आन्दोलन नरोकिने जनाएको छ। महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन कमिटी संयोजक नानुमाया पराजुलीले भनिन्, ‘ऐन ल्याउने भन्ने कुरा भएको छ, तर वास्तवमा आउँछ कि आउँदैन भन्ने ग्यारेन्टी छैन। विषयगत समितिको सभापति टुंगो लाग्न अझै डेढ महिना लाग्छ भनिएको छ।’
महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै अझ धेरै शिक्षक–कर्मचारीलाई काठमाडौंमा भेला भई आन्दोलन चर्काउन आह्वान गरेको छ। शिक्षा क्षेत्र लामो समयदेखि आन्दोलनको चपेटामा पर्दै आइरहेको सन्दर्भमा अहिलेको अवस्था समाधानतर्फ कहिले जाने हो भन्ने प्रश्न अझै अनुत्तरित छ।