नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना

काठमाडौं –  विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले सोमबार नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघर मण्डलाबाट जुलुससहित अघि बढेका शिक्षकहरूलाई प्रहरीले निषेधित क्षेत्र भनेर रोक्दा उनीहरू बानेश्वरको सडकमै धर्ना बसेका हुन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनले राजधानी केन्द्रित रूपमा चर्किएको छ। महासंघले सरकारसँग भएका विगतका सहमति कार्यान्वयन गर्न जोड दिँदै संसद्को वर्षे अधिवेशन तत्काल बोलाउने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग अघि सारेको छ।

शिक्षकहरूको आन्दोलनले नयाँ शैक्षिक सत्र प्रभावित हुन थालेको छ। महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परीक्षा कार्यक्रम बहिष्कार गर्ने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय सार्वजनिक गरिसकेको छ।

महासंघका अनुसार आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी रहनेछ। आन्दोलनकै कारण शिक्षण सिकाइ प्रक्रियामा व्यापक असर परेको छ भने अभिभावक र विद्यार्थीहरू अन्योलमा परेका छन्।

सरकार र आन्दोलनरत शिक्षकबीच संवाद भएपनि निष्कर्षमा पुग्न सकेको छैन। शिक्षा ऐन जारी नगरेसम्म संघर्ष जारी राख्ने महासंघको अडानले शिक्षा क्षेत्र थप अन्योलमा परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्