काठमाडौं — कागेश्वरी मनोहरा नगरपालिकाले सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो र जनमैत्री बनाउने उद्देश्यले एकीकृत सेवाको अवधारणा अन्तर्गत नयाँ कार्य प्रणाली सुरु गरेको छ।
नगरपालिकाले अब सबै शाखा प्रमुखहरूलाई एउटै राउण्ड टेबलमा बसेर सेवा दिनुपर्ने व्यवस्था लागू गरेको छ। यस प्रणालीले सेवाग्राहीलाई एकै स्थानबाट सम्बन्धित सबै सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार यो पहलले सेवा प्रवाहलाई थप सुलभ बनाउँदै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई बल पुर्याउनेछ। उनले भने, “अब नागरिकलाई एउटै कामका लागि फरक-फरक शाखामा दौडिनुपर्ने बाध्यता अन्त्य हुनेछ।”
शाखा प्रमुखहरूबीचको समन्वयलाई मजबुत पार्दै, नगरवासीसँग नजिकबाट सेवा दिन सकिने विश्वास नगरपालिका प्रशासनले व्यक्त गरेको छ।
यो पहल जनउत्तरदायी प्रशासन निर्माणतर्फको ठोस र संस्थागत कदमका रूपमा लिइएको छ।
नगरपालिकाले यस प्रणालीलाई आगामी दिनमा अझ प्रविधिमैत्री र डिजिटल स्वरूपमा विस्तार गर्दै लैजाने योजना पनि अघि सारेको छ। सेवा प्रवाहमा नवप्रवर्तन ल्याउने कागेश्वरी मनोहराको यो प्रयास उदाहरणीय र अनुकरणीय भएको स्थानीय नागरिकहरूको प्रतिक्रिया छ।