काठमाडौं, वैशाख २ – नेपाल शिक्षक महासंघको आह्वानमा चैत्र २० गतेदेखि सुरु भएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलन १४ दिन नाघिसक्दासमेत सरकार गम्भीर नभएकोप्रति नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले गम्भीर आपत्ति जनाएका छन्।
शिक्षक आन्दोलनलाई सम्बोधन गर्न सरकारले आवश्यक कदम नचालेको भन्दै उनले यसलाई “आश्चर्यजनक र दुःखद” भनेका छन्। आन्दोलन झन् सशक्त बन्दै जानु र आम शैक्षिक हडताल हुँदै SEE उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा बहिष्कार जस्ता कठोर निर्णय लिनु गम्भीर चेतावनी भएको साउदको भनाइ छ।
“शिक्षक महासंघले विगतमा सरकारसँग पटक–पटक गरेका सम्झौता कार्यान्वयन हुन नसक्दा आज यो अवस्था आएको हो,” साउदले भने, “सरकारले आन्दोलनलाई कमजोरीका रूपमा हेर्ने भूल नगरोस्। आन्दोलन लम्बिदै जाँदा शैक्षिक क्षेत्रमा ठूलो क्षति पुग्नेछ।”
उनले आफ्नो पार्टी, नेपाली कांग्रेस, आन्दोलनको समाधानका लागि पटक–पटक सरकारसँग पहल गरे पनि हालसम्म कुनै ठोस नतिजा ननिस्किएकोमा गुनासो गरे।
“अब पनि सरकारले समाधान नगरे नेपाली कांग्रेसले यो विषयलाई गम्भीरताका साथ लिँदै समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न ढिला गर्ने छैन,” साउदले चेतावनी दिएका छन्। साउदले शिक्षकको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।