काठमाडौं, वैशाख २ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँगको सहकार्यले कांग्रेस पार्टी नबिग्रिने स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले पार्टीको सहकार्यको उद्देश्य स्पष्ट पारेका हुन्।
“यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं। त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ,” थापाले भने, “तर, हामी मिसिन गएको होइन, सफा गर्न गएको हो। हामी त्यसकै अंग बन्न गएकै होइन।”
महामन्त्री थापाले एमालेसँगको सहकार्यबाट अपेक्षा अनुसारको काम हुन नसकेकोप्रति असन्तुष्टि समेत जनाए। दुई ठूला पार्टीको सहकार्यबाट संविधान संशोधन लगायत जनअपेक्षाका कामहरु अघि बढ्ने विश्वास गरिएको भए पनि त्यसमा ढिलाइ भएको उनले उल्लेख गरे।
“हामीले सोचेका थियौं, दुई ठूला पार्टी मिलेर सरकार बनाएपछि संविधानमा केही आवश्यक संशोधनका काम तुरुन्त अघि बढ्छन्, शासन प्रणालीमा व्यापक सुधार ल्याइन्छ,” उनले भने, “तर त्यो पनि ढिला भयो।”
उनका अनुसार सरकारमा कांग्रेस सहभागी हुँदा पनि संघ, प्रदेश र स्थानीय तहमा चित्तबुझ्दो काम हुन नसकेकोले कार्यकर्ता र समर्थकमा अलमल, बेचैनी र आक्रोश देखिएको छ।
सरकारको गति अपेक्षाअनुसार नभएको भन्दै उनले भने, “तीव्र गतिको काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा चलेको छ।”
थापाले कांग्रेस नेतृत्वको सरकारबाटै सुधारको अपेक्षा गरिएको तर त्यो पूरा हुन नसकेकोमा गम्भीर चिन्ता व्यक्त गरे।