काठमाडौं, वैशाख २ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार सेवा आज बिहान ११ बजेदेखि औपचारिक रूपमा सुरु गरिएको हो। अबदेखि विद्यार्थीहरूलाई बल्खुस्थित कार्यालयमा गई लामो समयसम्म लाइनमा बस्नु पर्ने झन्झट हट्ने भएको छ।
जोशीका अनुसार त्रिविले आफ्नै पद्धति विकास गरेर अनलाइन सेवा कार्यान्वयनमा ल्याएको हो। प्रारम्भिक चरणमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि मात्र यो सेवा सुरु गरिएको भए पनि अन्य सेवाहरू पनि क्रमशः अनलाइन प्रणालीमै ल्याइने योजना रहेको उनले जानकारी दिए।
उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालयबाट दिइने सम्पूर्ण सेवा पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ।
विद्यार्थीहरूले student.tuexam.edu.np वेबसाइटमा लगइन गरी दिइएको निर्देशनअनुसार फारम भर्न सक्नेछन्। त्यस्तै, तोकिएको शुल्क पनि सम्बद्ध बैंकमार्फत अनलाइन भुक्तानी गरी फारम सबमिट गर्न सकिने व्यवस्था गरिएको छ।
फारम भर्दा रजिष्ट्रेसन कार्डमा उल्लेख भएको विवरण अनुसार मार्कसिटहरूमा एकरूपता भएमा त्यही अनुसार प्रक्रिया अगाडि बढाउन सकिनेछ। यदि विवरणमा कुनै त्रुटि देखिएमा “Correction Option” प्रयोग गरी आवश्यक संशोधन गरेर फारम बुझाउन सकिनेछ।
यस प्रणालीको सुरुआतसँगै त्रिविका विद्यार्थीहरूलाई कागजी झन्झटबाट मुक्ति मिल्ने र सेवा प्राप्ति सहज हुने अपेक्षा गरिएको छ।