मुलुक संविधानवाद र लोकतन्त्रको बाटोमा छ : सांसद साउद

काठमाडौँ – नेपाली कांग्रेसका सांसद तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले नेपाल संविधानवाद र लोकतन्त्रको बाटोमा अगाडि बढिरहेको उल्लेख गर्दै त्यसको संस्थागत स्थायित्वका लागि सबै राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा देउडा समाजले सोमबार आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै साउदले लोकतन्त्र र संविधानको रक्षा तथा संस्थागत विकासका लागि सबैले योगदान गर्नुपर्ने बताए।

‘मुलुक संविधानवाद र लोकतन्त्रको बाटोमा छ,’ साउदले भने, ‘यो संस्थागत होस्, शान्ति दिगो होस् भन्ने हाम्रो साझा कामना हो।’ उनले संविधान निर्माणमा नेपाली जनताको ठूलो त्याग र बलिदान रहेको उल्लेख गर्दै त्यसको रक्षा र प्रवर्द्धनका लागि सबै दल जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे। ‘सहिदहरूले लामो संघर्षपछि दिलाएको संविधान र लोकतन्त्रलाई कसैले हल्लाउन नपाओस्,’ उनले भने, ‘दिगो शान्तिका लागि हामी सबैको प्रयास निरन्तर चलिरहोस्।’ कार्यक्रममा उनले सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको देउडा संस्कृति संरक्षणमा जोड दिए। ‘देउडा हाम्रो मौलिक संस्कृति हो,’ उनले भने, ‘यसले विचार र पद्धति बोकेर समाजलाई अघि बढाउने काम गर्छ, त्यसैले यसलाई कमजोर हुन दिनुहुँदैन।’

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका विभिन्न सांस्कृतिक झलकहरू प्रस्तुत गरिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्