चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै देशमा नयाँ सरकार बन्न सक्ने संकेत गरेका छन्।
आज आफ्नो गृहजिल्ला चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमलाई संकेत गर्दै नयाँ अनुभवको आधारमा यस्तो संकेत दिएका हुन्। पत्रकारहरुले नयाँ सरकारबारे जिज्ञासा राख्दा प्रचण्डले भने, “परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ।”
उनले सरकारप्रति जनआक्रोश बढ्दै गएको र सरकारमै रहेका दलहरू पनि सडकमा झर्ने स्थितिमा पुगेको उल्लेख गरे। “नयाँ वर्षले केही न केही निकास ल्याउँछ भन्ने मलाई लाग्छ,” उनले स्पष्ट पारे।
यसअघि एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावनाबारे संकेत गरेका थिए। सोही प्रसंगमा पत्रकारहरूले थप स्पष्टीकरण माग्दा उनले अहिले बोलेको कुरा केही नयाँ घटनाक्रम र अनुभवमा आधारित रहेको बताए।
प्रचण्डले भने, “पछिल्लोपटक घटनाक्रमहरु नयाँ भए। केही नयाँ अनुभवसहित भनेको हो मैले। मलाई लाग्छ, देश त्यही दिशातिर जान्छ।”
तर उनले यसबारे थप टिप्पणी नगर्न आग्रह गर्दै समाचार तयार पार्दा सन्दर्भअनुसार जिम्मेवार रुपमा प्रस्तुत गर्न सञ्चारकर्मीहरूलाई सुझाव दिए।