काठमाडौं — काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिल राज बोहराका अनुसार आगलागीको सूचना प्राप्त भएपछि प्रहरी र दमकल टोली घटनास्थलमा खटिएको छ। हाल आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताइएको छ।
प्रारम्भिक जानकारीअनुसार आगलागी प्लास्टिक उद्योगको एउटा भागबाट सुरु भएको हो। आगोको कारण र क्षतिको विवरण भने अझै खुलाइएको छैन। उद्योग क्षेत्रमा प्लास्टिकजन्य वस्तु रहेका कारण आगो तीव्र गतिमा फैलिएको हुनसक्ने अनुमान गरिएको छ। दमकलका थप सवारीहरू समेत घटनास्थलतर्फ परिचालित भएका छन्। स्थानिय बासिन्दालाई सतर्क रहन र आगलागी क्षेत्र नजिक नजान आग्रह गरिएको छ।