काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला दिनहरूमा आफूलाई लक्षित गर्दै ‘१७ हजारको हत्यारा’ भन्ने आरोप सार्वजनिक रूपमा चलाइँदा पनि त्यसको खण्डन नहुनेमा गहिरो गुनासो गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शान्तिपूर्ण राजनीतिक प्रक्रियामा आएको माओवादी आन्दोलनलाई नियोजित रूपमा गलत रूपमा चित्रित गर्न खोजिएको आरोप लगाए। उनले भने, “इतिहासलाई पछाडि धकेल्न चाहनेहरूले १७ हजारको हत्यारा भनेर हल्ला चलाइरहेका छन्, तर हाम्रो पार्टी पंक्ति र बुद्धिजीवीहरूबाट त्यसको स्पष्ट खण्डन नहुनु दुःखद छ।”
प्रचण्डले आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको दाबी गर्दै युद्धकालीन घटनाहरू युद्धको नियमअनुसार भएको बताए। “युद्धको नेतृत्व मैले गरेको हो, शान्तिप्रक्रियामा आएपछि सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता राखेको छु,” उनले भने, “तर, व्यक्तिगत आरोपहरू लागिरहँदा ममाथि भइरहेको हिलोछ्यापाइको प्रतिकार नगर्नु विडम्बनापूर्ण छ।”
कार्यक्रममा प्रचण्डले सेना समायोजन, शान्ति प्रक्रिया, र हतियार व्यवस्थापनका सन्दर्भमा माओवादी केन्द्रले लिएको साहसिक भूमिकाको पनि स्मरण गरे। “हतियार व्यवस्थापन तत्काल गर्नुपर्छ भन्ने जोखिम मोलेको पार्टी माओवादी केन्द्र हो,” उनले भने।
उनले नेपाली समाजका केही वर्ग र समूहहरूले माओवादी आन्दोलनलाई स्वीकार नगर्ने मानसिकता देखाएको बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरे। “बरु उल्टै १७ हजारको हत्यारा भन्ने झुटा नेरेटिभ निर्माणको जबरजस्त प्रयास भइरहेको छ,” उनले भने।
अन्त्यमा अध्यक्ष प्रचण्डले कार्यक्रममा उपस्थित बुद्धिजीवीहरूलाई यस्ता आरोपहरूप्रति गम्भीरतापूर्वक विचार गर्न र सत्यको पक्षमा स्पष्ट धारणा राख्न अपिल गरे। “म सबै बुद्धिजीवी साथीहरूलाई आग्रह गर्छु, यो विषय गम्भीर सोच र चिन्तनको खाँचो भएको विषय हो,” प्रचण्डको भनाइ थियो।