काठमाडौं, ३० चैत – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको २० वर्षपछि सबै काम रोबोटले गर्ने दाबी गर्दै राजनीतिक, प्रशासनिक र सुरक्षा जनशक्ति कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संघीयता कार्यान्वयनसँगै देखिएका चुनौतीको सन्दर्भमा राजनीतिक संरचनाहरू पुनरावलोकन आवश्यक भएको बताएका हुन्।
उनले वर्तमान खर्चिलो प्रणालीले मुलुकलाई धान्न कठिन भइसकेको उल्लेख गर्दै संघीय संसद्, प्रदेश सभा, स्थानीय तह, प्रशासन तथा सुरक्षा अंगको संख्यामा कटौती गर्नुपर्ने धारणा राखे।
“२७५ सदस्यीय संघीय संसदलाई २०१ मा झारौं, प्रदेश सभाको संख्या आधा गरौं, पालिकाको संख्या घटाएर वडाको संख्या बढाउन सकिन्छ,” मन्त्री पौडेलले भने, “संघीय मन्त्रिपरिषद् २५ बाट १५ मा र प्रदेश मन्त्रिपरिषद् ३ मा झारौं। यसरी राजनीतिक संरचना घटाइएपछि प्रशासनिक र सुरक्षा निकायको संख्यामा पनि कटौती गर्न सकिन्छ।”
मन्त्री पौडेलले सेवाग्राहीहरूलाई कार्यालय धाउनु नपर्ने प्रविधियुक्त प्रणाली विकास गर्न जोड दिएका छन्। उनले आगामी २० वर्षभित्र प्रशासनिक काम रोबोट तथा डिजिटल माध्यमबाट हुनसक्ने दाबी गरे। “अब म्यानुअल्ली काम गर्न जरुरी छैन,” उनले भने, “प्रविधिको प्रयोगबाट घरैबाट इमेलमार्फत सेवा लिन सक्ने अवस्था बनाऔं।”
उनले मुलुकको प्रगति गर्न वर्तमान अवस्थाप्रति असन्तुष्टि जरुरी भएको पनि औँल्याए। “सकारात्मक र मर्यादित असन्तुष्टि परिवर्तनको स्रोत बन्न सक्छ,” मन्त्री पौडेलको भनाइ थियो।