काठमाडौं, ३० चैत – अब कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय तहमा नहुने भएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा भएको दफावार छलफलमा एसईई परीक्षा खारेज गर्ने सहमति जुटेको हो।
उपसमितिका अनुसार अब विद्यालय शिक्षा दुई तहमा विभाजन हुनेछ – आधारभूत (कक्षा १ देखि ८) र माध्यमिक (कक्षा ९ देखि १२)। आधारभूत तहको परीक्षा स्थानीय तहले सञ्चालन गर्नेछ भने माध्यमिक तहको अन्तिम परीक्षा कक्षा १२ मा मात्रै राष्ट्रिय परीक्षा बोर्डले लिनेछ। त्यसअनुसार अब कक्षा १० को परीक्षा विद्यालय तहमा नै सञ्चालन हुनेछ।
शिक्षा समितिको स्रोतका अनुसार, “अब एसईई परीक्षा रहने छैन, १ देखि ८ स्थानीय तहले गर्ने र माध्यमिक तहको अन्तिम परीक्षा १२ कक्षाको मात्रै हुने सहमति भएको छ।”
यससँगै जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने विषयमा पनि सहमति जुटेको छ। प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक्रमलाई दुई वर्षे बनाउने प्रस्तावमा समेत सहमति जुटेको उपसमितिका सदस्यहरूले बताएका छन्।
हालसम्म उपसमितिमा भएका सहमतिहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। सबै विषयमा टुंगो लगाएर समितिमा प्रतिवेदन पेश गर्ने तयारीमा उपसमिति जुटेको छ।
समितिमा प्रदेश प्रदेशबाट आएका सुझाव, सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव तथा विज्ञहरूको सुझावलाई समेटेर छलफल भइरहेको छ। शनिबार पनि उपसमितिको बैठक बस्ने कार्यक्रम छ।
यता, शिक्षकहरूको आन्दोलन भने चैत २० देखि जारी छ। शिक्षा ऐन निर्माणको माग गर्दै शिक्षक महासंघ र सरकारबीच वार्ता चलिरहेको छ। उपसमितिका अनुसार शिक्षकसम्बन्धी विषयमा छलफल बाँकी रहेकाले सरकार र शिक्षकबीचको सहमतिपछि निर्णय टुंग्याइनेछ।