तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं, वैशाख २९ – तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई १२ दिनको म्याद थपको आदेश दिएको हो।

भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो। सोही क्रममा आवश्यक कागजात मिलाएर उनलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गरिएको थियो।

प्रहरीले उनीहरूलाई ज्यान मार्ने उद्योग लगायतका गम्भीर आरोपमा अनुसन्धान गर्न १२ दिनको म्याद माग गरेको थियो। अदालतले सो अनुरोधलाई स्वीकृत गर्दै हिरासतमा राख्न आदेश दिएको हो।

यसअघि गत २६ चैतमा सोही प्रदर्शनको सम्बन्धमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिनको म्याद थप गरिएको थियो। उनीहरूसँग अनुसन्धानको म्याद मिलाउनका लागि प्रसाईं र खड्काको पनि १२ दिनको म्याद माग गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रसाईं गत चैत १५ गतेको प्रदर्शनपछि फरार रहेका थिए। हाल उनीमाथि सहकार्यमा अपराध र हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा अनुसन्धान जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्