दुर्गा प्रसाईंलाई अदालत लगियो, १२ दिन हिरासतमा राख्ने अनुमतिको तयारी

काठमाडौं, वैशाख २९ – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिएको छ।

प्रसाईंलाई केहीबेरपछि जिल्ला अदालत काठमाडौंमा पेस गरिने तयारी भइरहेको छ। प्रहरी स्रोतका अनुसार, उनीविरुद्ध ज्यान मार्ने उद्योगलगायतका गम्भीर अभियोगमा मुद्दा दायर गरिनेछ।

प्रहरीले उनलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अनुमति माग गरेको छ। उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि सोही अवधि हिरासतमा राख्न म्याद माग गरिएको हो।

यसअघि सोही प्रदर्शनमा संलग्न रहेको अभियोगमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिनको म्याद थप गरिएको थियो। प्रहरी स्रोतका अनुसार, प्रसाईं र खड्काको म्याद पनि उनीहरूसँग मिलाउनका लागि १२ दिनको माग गरिएको हो।

चैत १५ गतेको प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई हालै भारतबाट पक्राउ गरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो। आवश्यक कागजात तयार गरी उनलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गर्ने प्रक्रिया अघि बढाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्