काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि चैत २९ गते शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित अनौपचारिक कार्यक्रममार्फत नयाँ वर्षको स्वागत गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकबीच आपसी भेटघाट, शुभकामना आदान–प्रदान र चियापान गरिएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय परिवार र समुदायबीच सहकार्य र आत्मीयता बढाउने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम विद्यालयको वार्षिक परम्परा बन्दै गएको छ। यस अवसरमा विद्यालयले चालु शैक्षिक सत्रको नतिजा समेत सार्वजनिक गरेको थियो। आफ्ना बालबालिकाको नतिजा बुझ्न आएका अभिभावकहरूको अनुहारमा उत्साह र खुसी झल्किएको देखिन्थ्यो। धेरै अभिभावकले विद्यालयको शिक्षण पद्धति, वातावरण र उपलब्धिप्रति सन्तुष्टि व्यक्त गर्दै अर्किड स्कुललाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा मूल्याङ्कन गरेका थिए। कार्यक्रमका दौरान विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना प्रक्रिया पनि निरन्तर रूपमा सञ्चालन गरिरहेको जानकारी गराएको छ।
शैक्षिक उत्कृष्टतासँगै अर्किड स्कुलले विद्यार्थीको बहुआयामिक विकासमा विशेष ध्यान दिँदै विभिन्न अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको छ। विद्यालयले “अर्किड कप” अन्तर्गत अन्तर–हाउस खेलकुद प्रतियोगिता, “अर्किड आइडल” को नाममा गायन तथा नृत्य प्रतिस्पर्धा, साथसाथै वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ, विज्ञान प्रदर्शनी, सामाजिक सेवा कार्यक्रम जस्ता विविध क्रियाकलाप नियमित रूपमा आयोजना गर्दै आएको छ।
यी कार्यक्रमहरूले विद्यार्थीको प्रतिभा पहिचान गर्न, आत्मविश्वास विकास गर्न र विद्यालय जीवनलाई अझ रमाइलो तथा प्रेरणादायक बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
यता विद्यालयका संचालक प्रेमकुमार भुजेलले अर्किड स्कुलले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताए।
“हामी केवल परीक्षा पास गराउने संस्था होइन, पूर्ण व्यक्तित्व विकास गराउने शिक्षालय निर्माणको लक्ष्यसहित अघि बढेका छौँ,” उनले भने।
भुजेलले थपे, “विद्यार्थीलाई नवीनतम प्रविधिसँग जोड्दै, जीवनोपयोगी सीप र मूल्य–मान्यतामा आधारित शिक्षा दिन हामी प्रतिबद्ध छौँ। आगामी सत्रदेखि स्मार्ट कक्षा, विज्ञान प्रयोगशाला, डिजिटल पुस्तकालय र अतिरिक्त शैक्षिक गतिविधिहरूमा विशेष ध्यान दिइनेछ। अभिभावकको विश्वास र समर्थनले नै हामीलाई अघि बढ्न हौसला मिलेको छ।”
यस्तै विद्यालयका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले विद्यालयको शैक्षिक यात्रालाई अझ प्रभावकारी र प्रविधिमूलक बनाउन लागिरहेको जानकारी दिए। उनले भने, “शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको समन्वय र समर्पणले मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ। हाम्रो विद्यालयले हरेक विद्यार्थीको प्रगतिको जिम्मेवारी लिँदै उनीहरूलाई सक्षम, जिम्मेवार र आत्मनिर्भर नागरिक बनाउने दिशामा काम गरिरहेको छ।”
यस्तै विद्यालय संयोजक नरेन्द्र पाण्डेयले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे।
उनले भने, “हाम्रो विद्यालयमा सिकाइ विद्यार्थी–केन्द्रित छ। विद्यार्थीको रुचि, क्षमता र आवश्यकता अनुसार शिक्षा दिन हामी प्रतिबद्ध छौँ।”
पाण्डेयले विद्यालयले प्रत्येक विद्यार्थीलाई आत्मविश्वासी, रचनात्मक र जिम्मेवार बनाउने उद्देश्यसहित पाठ्यक्रम, सह–पाठ्य गतिविधि र मूल्य शिक्षालाई सन्तुलित रूपमा अघि बढाइरहेको उल्लेख गरे। “शिक्षक र अभिभावकको सहकार्यले मात्र विद्यार्थीको सम्पूर्ण विकास सम्भव हुन्छ। हामी यो समन्वयलाई अझ सुदृढ बनाउने लक्ष्यमा छौँ,” उनले भने।
कार्यक्रममा उपस्थित हुन विद्यामा पुगेका अभिभावकहरु समेत खुसी मुद्रामा देखिन्थे । उनीहरुले विद्यालयको खुलेरै प्रसंसा गरेका थिए ।
“यहाँको वातावरण निकै शान्त, सुरक्षित र सकारात्मक छ। शिक्षकहरुले हरेक विद्यार्थीमा व्यक्तिगत ध्यान दिनुहुन्छ, जुन कुरा अरु विद्यालयमा अभावजस्तै लाग्छ।’ अभिभावक सर्मिला बाराकोटीले भनिन्, ‘यसपालीको नतिजा हेर्दा मलाई लाग्यो—छोरीले मात्र मेहनत गरेकी होइन, विद्यालयले पनि साथ दिएको छ, मेरो छोरी यो विद्यालयमा भर्ना भएपछि उसमा आएको परिवर्तन साँच्चै प्रशंसनीय छ । आत्मविश्वास, अनुशासन, र पढाइप्रतिको रुचि सबैमा सुधार आएको छ। यसले हामी अभिभावकलाई निश्चिन्त बनाएको छ।”
“केवल किताबी ज्ञान होइन, अतिरिक्त क्रियाकलापमार्फत बच्चाहरूको सम्पूर्ण विकासमा जोड दिएको देखिन्छ। अर्किड कप, अर्किड आइडल जस्ता कार्यक्रमले बच्चाहरूको लुकेको प्रतिभा बाहिर ल्याउँछ, जुन सबै विद्यालयले गर्न सक्दैनन्।” अर्का अभिभावक शिव खड्काले भने, ‘अर्किड स्कुलको बारेमा जति ठाउँबाट बुझें, सबै ठाउँबाट राम्रो प्रतिक्रिया मात्रै पाइयो। त्यसैले निःसंकोच यही विद्यालय रोजें र आज पनि मलाई लाग्छ—सही निर्णय गरें।”
अर्किड प्युपल सेकेन्डरी स्कुलले शैक्षिक गुणस्तरसँगै सिर्जनात्मकता, नेतृत्व, सामाजिक चेतना र व्यवहारिक सीपलाई जोड दिने माध्यमबाट विद्यार्थीहरूलाई समग्र रूपमा विकास गर्न सशक्त प्रयास गरिरहेको छ। नयाँ वर्षको सुरुआतमै भएको यो उत्सवले विद्यालय परिवारमा उत्साह थपेको छ भने सामुदायिक सम्बन्धलाई अझ सुदृढ बनाएको छ।