तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ‘ज्यान मार्ने उद्योग’मा मुद्दा चलाउने तयारी

काठमाडौं – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका मुख्य संयोजक दुर्गा प्रसाईंविरुद्ध ‘ज्यान मार्ने उद्योग’मा पनि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।

प्रदर्शनका क्रममा प्रसाईं आफैंले चलाएको गाडीले सुरक्षामा खटिएका प्रहरीमाथि जानी-जानी ठक्कर दिँदै अघि बढेको दृश्यसहितको भिडियो सार्वजनिक भएपछि घटनाले गम्भीर मोड लिएको हो । भिड नियन्त्रणमा खटिएका केही प्रहरी स्वयंले प्रसाईंविरुद्ध उजुरी दिने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ ।

यसअघि नै पक्राउ पूर्जी जारी गरी खोजी भइरहेको अवस्थामा उनी बिहीबार राति भारतबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइरहेको छ ।

प्रहरीका अनुसार, शुक्रबारै म्याद थपका लागि अदालतमा पेश गरिने तयारी भइरहेको छ । हाल प्रहरी म्याद थपका लागि आवश्यक कानुनी प्रक्रिया तथा कागजात तयार पारिरहेको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका प्रसाईं लामो समयदेखि निगरानीमा थिए । उनीमाथि प्रदर्शनको योजना, हिंसात्मक गतिविधिमा संलग्नता, सार्वजनिक सुरक्षामा खतरा पुर्‍याएको र प्रहरीमाथि आक्रमणको प्रयास गरेको आरोप लगाइएको छ । सार्वजनिक भिडियो र घटनाका प्रत्यक्षदर्शीका बयानलाई प्रमाणस्वरूप पेस गर्दै प्रहरीले उनलाई ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रदर्शनसँगै अब कानुनी मोर्चामा समेत प्रसाईंको अवस्था थप जटिल बन्दै गएको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्