काठमाडौं, वैशाख २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारी सम्बन्धमा मन्त्रिपरिषद्का सबै मन्त्रीहरू र सचिवहरूसँग आज महत्वपूर्ण छलफल गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो साढे ३ बजे हुने भनिएको उक्त बैठकमा विभिन्न मन्त्रालयका योजना तथा कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गरिनेछ। साथै, आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण सम्बन्धमा आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संविधानअनुसार सरकारलाई प्रत्येक वर्ष जेठ १५ गतेभित्र नयाँ बजेट संसदमा पेश गर्नुपर्ने प्रावधान छ। त्यसअघि ‘मिनी बजेट’ का रूपमा चिनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गरिनेछ।
प्रधानमन्त्री ओलीले चालु योजनाहरूको कार्यान्वयन अवस्थाबारे जानकारी लिँदै नीति निर्माणमा समन्वयात्मक पहल गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ।