पियोर इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं – पियोर इनर्जी लिमिटेडले आज (चैत २८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिल्यै निष्काशन तथा बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ रहेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा आगामी २०८२ साल बैशाख २ गतेसम्म र ढिलोमा बैशाख ११ गतेसम्म दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘CARE-NP BB+ (Is)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

पियोर इनर्जी लिमिटेडले १० मेगावाट क्षमताका दुई वटा सौर्य पी.भी. विद्युत आयोजना प्रवर्द्धन गरिरहेको छ। ब्लक १ आयोजनाको कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ र ब्लक २ को लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको छ। ब्लक १ ले २०७७ पुस २ गते र ब्लक २ ले २०७७ मंसिर २९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेका थिए। दुवै आयोजनाको विद्युत उत्पादन अनुमति अझै २० वर्ष ११ महिना बाँकी छ।

लगानी फिर्ता हुने साधारण अवधि ८.१२ वर्ष र छुटको हिसाबमा १२.४२ वर्ष रहेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले ‘मेरो शेयर’ अनलाइन प्रणाली तथा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्