चारदेशीय टी-२० सिरिजमा नेपालको दोस्रो जित, ओपनरद्वय भूर्तेल र शेखको उत्कृष्ट प्रदर्शन

हङकङमा जारी चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान भएको खेलमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा ओपनरद्वय कुशल भूर्तेल र आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे। भूर्तेलले ५० बलमा ६ चौका र ६ छक्कासहित ८१ रन बनाए भने आशिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे। यी दुईले अर्धशतक प्रहार गर्दै नेपालको इनिङ्सलाई बलियो आधार प्रदान गरे। कुशल मल्ल भने ४ रनमा आउट भए। त्यसपछि दिपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाउँदै टोलीलाई जितको नजिक पुर्‍याए।

कुवेतको बलिङमा यसिन पटेलले २ विकेट लिए भने मोहम्मद शफिक र मोहम्मद अस्लामले १-१ विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो। कुवेतका ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे। मिट भवसरले २८ बलमा ३५, बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन जोडे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदै बलिङमा उत्कृष्ट प्रदर्शन गरे। नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भूर्तेलले १-१ विकेट लिए।

नेपालले सिरिजको पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। अब नेपालले तेस्रो खेल चैत ३० गते हङकङसँग खेल्नेछ। सिरिजको तेस्रो स्थान र फाइनल खेल चैत ३१ गते हुने तालिका छ। लगातार दुई जितसँगै नेपालले सिरिजमा बलियो दाबेदारी प्रस्तुत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्