दार्चुला — सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको दार्चुला बहुमुखी क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दिएका नेविसंघका प्रकाश बडू अध्यक्षमा विजयी भएका छन्।
बडूले २२२ मत प्राप्त गर्दै अनेरास्ववियुका उम्मेदवार खडक सिंह ठगुन्नालाई पराजित गरेका हुन्। ठगुन्नाले १९१ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशीले २० मत प्राप्त गरे।
अध्यक्षसहित गठबन्धनको प्यानलले सिङ्गो विजय हात पारेको छ। सचिव पदमा अखिल (क्रान्तिकारी) का लालसिंह महर २१८ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियुका दिपुसिंह महरले २१५ मत प्राप्त गरे। कोषाध्यक्षमा गठबन्धनका उम्मेदवार जगत सिंह धामीले २४० मत प्राप्त गर्दै अनेरास्ववियुकी कुसुम धामीलाई पछि पारे। कुसुमले २०३ मत प्राप्त गरिन्।
यसपटकको निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीबीचको गठबन्धनले प्रमुख पदमा स्पष्ट बहुमतसहित जित हासिल गरेको छ। निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ समीकरणको संकेत गरेको बताइएको छ।