काठमाडौं – नेपाल बार एशोसिएसनको २७औँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. विजयप्रसाद मिश्रको जित सुनिश्चित भएको छ। शनिबार सम्पन्न मतदानपछिको मतगणनामा मिश्रले आफ्ना प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई दोब्बरभन्दा धेरै मतले पछाडि पारेका छन्।
बुधबार साँझसम्मको अद्यावधिक मतगणना अनुसार मिश्रले ४ हजार ८९२ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २ हजार २२९ मत पाएका छन्। ललितपुर जिल्ला बारका ५६० मत मात्र गन्न बाँकी रहेका बेला मिश्रको अग्रता २६ सयभन्दा धेरै छ। अधिवक्ता जनक साउदका अनुसार मिश्रको जित अब लगभग निश्चित जस्तै भएको हो। डा. मिश्र डेमोक्रेटिक लयर्स एशोसिएसन (DLA) र प्रोग्रेसिभ प्यानल अफ लयर्स एशोसिएसन (PPLA) का साझा उम्मेदवार हुन् भने श्रेष्ठ विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार थिए।
महासचिव पदमा पनि सत्ता गठबन्धन निकटका केदारप्रसाद कोइरालाले स्पष्ट अग्रता बनाएका छन्। निर्वाचन अधिकृत ताराबहादुर सिटौलाका अनुसार कोइरालाले ४ हजार ७०४ मत प्राप्त गर्दा श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणी न्यौपानेले २ हजार २९ मत पाएका छन्।
त्यस्तै, कोषाध्यक्ष पदमा पनि सत्ता गठबन्धनकै उम्मेदवार जगतबहादुर कार्कीले ४ हजार ९४० मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनका प्रतिद्वन्द्वी दीपक राईले १ हजार ५८१ मतमा सीमित भएका छन्। ‘अब ललितपुर जिल्ला बारको ५६० मत मात्रै गन्न बाँकी छ। मतगणना भोलिदेखि सुरु भई अन्तिम नतिजा पनि भोलि नै आउनेछ,’ अधिवक्ता साउदले जानकारी दिए।
नेपाल बारको नयाँ नेतृत्व गठनमा सत्ता गठबन्धनको बलियो पकड देखिएको छ।